खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बारा-पर्सा

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बारा-पर्सा, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, मधेश प्रदेशअन्तर्गत रहेको प्रादेशिक प्राविधिक कार्यालय हो। यस कार्यालयले बारा र पर्सा जिल्लाभित्र सुरक्षित, गुणस्तरीय, दिगो तथा समतामूलक खानेपानी तथा सरसफाइ सेवा विस्तार, विकास, सञ्चालन र व्यवस्थापनका लागि आवश्यक योजना, कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन गर्दै आएको छ।

कार्यालयको संस्थागत विकासक्रम निम्नानुसार रहेको छः

  • वि.सं. २०४५ साल मा खानेपानी शाखा कार्यालय को रूपमा स्थापना भएको।
  • वि.सं. २०४७ साल मा जिल्ला खानेपानी कार्यालय को रूपमा स्तरोन्नति भएको।
  • वि.सं. २०६२ साल मा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय को रूपमा पुनर्संरचना गरिएको।
  • आर्थिक वर्ष २०७५/०७६ देखि नेपालको संघीय शासन प्रणाली कार्यान्वयनसँगै कार्यालय प्रदेश सरकार, मधेश प्रदेश, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय अन्तर्गत सञ्चालन हुँदै आएको छ।

हाल कार्यालयले बारा र पर्सा जिल्लालाई कार्यक्षेत्र बनाई प्रदेश सरकारको नीति, योजना तथा कार्यक्रम, प्रचलित ऐन, नियम, मापदण्ड तथा निर्देशिकाबमोजिम खानेपानी तथा सरसफाइ क्षेत्रको विकास, विस्तार तथा व्यवस्थापनका कार्यहरू सञ्चालन गर्दै आएको छ। कार्यालयले खानेपानी आयोजना योजना, विस्तृत सर्वेक्षण तथा डिजाइन, निर्माण, पुनःस्थापना, खानेपानी गुणस्तर परीक्षण तथा अनुगमन, सरसफाइ तथा स्वच्छता प्रवर्द्धन, स्थानीय तहलाई प्राविधिक सहयोग, आयोजना अनुगमन तथा मूल्याङ्कन, जलवायु उत्थानशील पूर्वाधार विकास तथा उपभोक्ता समितिको क्षमता अभिवृद्धि लगायतका कार्यहरू सम्पादन गर्दछ।

दृष्टिकोण (Vision)

बारा र पर्सा जिल्लाका सबै नागरिकलाई सुरक्षित, पर्याप्त, गुणस्तरीय तथा दिगो खानेपानी र सरसफाइ सेवामा सर्वसुलभ पहुँच सुनिश्चित गर्ने।

ध्येय (Mission)

समन्वित योजना, प्रभावकारी कार्यान्वयन, आधुनिक प्रविधिको उपयोग तथा सुशासनमा आधारित सेवा प्रवाहमार्फत बारा र पर्सा जिल्लामा दिगो खानेपानी तथा सरसफाइ सेवा विस्तार र व्यवस्थापन गर्नु।

उद्देश्य (Objectives)

  • सुरक्षित तथा पर्याप्त खानेपानीमा सबै नागरिकको पहुँच विस्तार गर्ने।
  • गुणस्तरीय तथा दिगो खानेपानी पूर्वाधारको विकास गर्ने।
  • सरसफाइ तथा स्वच्छता प्रवर्द्धनमार्फत जनस्वास्थ्यमा सुधार ल्याउने।
  • खानेपानीको गुणस्तर सुनिश्चित गर्ने।
  • जलवायु परिवर्तन तथा विपद् जोखिमप्रति उत्थानशील खानेपानी प्रणालीको विकास गर्ने।

प्रमुख कार्यक्षेत्र

  • खानेपानी आयोजना योजना, सर्वेक्षण, डिजाइन तथा कार्यान्वयन।
  • खानेपानी आयोजना निर्माण, पुनःस्थापना तथा स्तरोन्नति।
  • खानेपानी वितरण प्रणालीको विस्तार तथा सुधार।
  • सरसफाइ तथा स्वच्छता प्रवर्द्धन कार्यक्रम सञ्चालन।
  • स्थानीय तहलाई प्राविधिक सहयोग ।
  • आयोजना अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चितता।
  • खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको क्षमता अभिवृद्धि।
  • जलवायु उत्थानशील तथा विपद् प्रतिरोधी खानेपानी पूर्वाधार विकास।
  • सार्वजनिक खरिद तथा ठेक्का व्यवस्थापन।
  • नागरिक गुनासो व्यवस्थापन तथा सूचना प्रवाह।
  • संघ, स्थानीय तह तथा विकास साझेदार संस्थाहरूसँग समन्वय र सहकार्य।

हाम्रो प्रतिबद्धता

  • गुणस्तरीय, पारदर्शी र प्रभावकारी सेवा प्रवाह।
  • सुशासन, जवाफदेहिता तथा उत्तरदायित्वको प्रवर्द्धन।
  • समयमै सेवा उपलब्ध गराउने।
  • समावेशी, वातावरणमैत्री तथा दिगो विकासलाई प्राथमिकता दिने।

सेवाग्राहीमैत्री प्रशासन र नागरिक सन्तुष्टिमा केन्द्रित कार्यसम्पादन।